निर्वाचन भएकै रात नतिजा नआउने सम्भावना सधैँ नै हुन्छ । त्यसमाथि यसपटक कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण लाखौं मानिसले पोस्ट (चिठी)को माध्यमबाट भोट दिएका छन् । जसको कारण सबै मतगणनामा ढिलाइ हुन सक्ने देखिएको छ ।
कहिलेसम्म आउला त निर्वाचनको नतिजा ?
सामान्यतया निर्वाचन सकिएको रात नै अमेरिकामा कसले जित्छ भन्ने कुरा तय हुने गरेको छ । यद्यपि समग्र मतगणना भने कहिले पनि निर्वाचन सकिएको दिन पूरा हुँदैन । यो समान्य हो तर विजेता हुनको लागि आवश्यक मतको भने छिनोफानो भइसक्छ । कुनै उम्मेदवारलाई अर्को उम्मेदवारले हराउन नसक्ने निश्चित भएपछि विजेताको घोषणा गरिन्छ । यो अन्तिम नतिजा भने होइन तर पनि यो घोषणा लगभग सही हुन्छ ।
अमेरिकामा पाएको मतको आधारमा राष्ट्रपति छानिँदैनन् । त्यसका लागि आवश्यक राज्यमा जित हात पार्नुपर्छ । प्रत्येक राज्यमा जित्दा उम्मेदवारले केही संख्यामा इलेक्टारेल भोट पाउँछन् । यो इलेक्टोरेल भोट जनसंख्याको आधारमा निर्धारण गरिएको हुन्छ । राष्ट्रपति बन्न २७० इलेक्टोरेल भोट आवश्यक हुन्छ । सन् २०१६ मा निर्वाचन सकिएको रात नै ट्रम्प विजयी भएको घोषणा भएको थियो ।
यस वर्ष किन फरक ?
कोभिड–१९ को महामारीको कारण धेरै मानिसहरुले यसपटकको निर्वाचनमा पोस्ट वा अन्य माध्यमबाट अगाडिदेखि नै मत दिन सुरु गरेका थिए । हस्ताक्षर र ठेगानाजस्ता विषयहरुको जाँचलगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पोस्टल भोट गणनाको लागि लामो समय लाग्छ । फ्लोरिडालगायतका केही राज्यले यो प्रक्रियाको लागि पहिला नै अनुमति दिएको कारण धेरै भोटहरु गणनाको लागि तयार अवस्थामा थिए । त्यसैले यी राज्यमा छिटै नै विजेताको घोषणा भयो ।
कुन कुन राज्यको नतिजा आउन बाँकी छ ?
अहिले एरिजोना, जर्जिया, मिसिगन, विस्कोन्सिन र पेन्सिल्भानियामा अझै मतगणना जारी छ । यी राज्यहरुको नतिजा राष्ट्रपति बन्न दुवै उम्मेदवारका लागि निकै महत्वपूर्ण छ । तर, अहिलेसम्मको अवस्था हेर्दा पूरै मत नगन्दासम्म यहाँको नतिजा आउने सम्भावना कम छ । पेन्सिल्भानिया र विस्कोन्सिनले निर्वाचनको दिनअघि नै गरिएको मतदानको गणना प्रक्रिया यसअघि सुरु गर्न दिएका थिएनन् । जसको कारण निर्वाचन अधिकारीहरुले यहाँको सबै मत गन्न केही दिन लाग्न सक्ने बताएका छन् ।
एरिजोना, जर्जिया र मिशिगनमा भने सन्तुलित हिसाबमा मतगणनाको काम भइरहेको छ । एरिजोनामा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि छन् । यो राज्यमा उनले जित हात पारेमा विस्कोन्सिन, मिशिगन र पेन्सिल्भानियामध्ये दुई राज्यमा जित्न सके बाइडन अमेरिकाको राष्ट्रपति बन्न सक्छन् । तर अहिले बाइडन तीनमध्ये दुईमा ट्रम्पभन्दा पछाडि छन् ।
जर्जियामा पनि पछिल्लो केही वर्षयता रिपब्लिकन पार्टीले जित्दै आएको छ । टेक्सासको पनि नतिजा आएको छैन तर यो राज्यमा ट्रम्प सुरक्षित देखिएका छन् ।
अन्य कारण
अमेरिकाका आधा राज्यले निर्वाचनको भोलिपल्ट पनि पोस्टलबाट आएको मत स्वीकार गर्छन् । त्यसैले निर्वाचन सकिएको केही दिनसम्म पनि मत गन्न बाँकी नै हुनेछ ।
अमेरिकामा राष्ट्रपतिको चुनावको मतपरिणाम कति समयमा आइसक्नु पर्छ भन्नेमा स्पष्ट कानुनी व्यवस्था छैन। तर जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिने दिन भएकाले त्यतिबेलासम्म भने राष्ट्रपति को हुने छिनोफानो गरिसक्नु पर्छ।
स्रोत : बीबीसी