उदयपुर। उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं। ७ निवासी समीर उदास विगत १ बर्ष देखि बोन म्यारो रोगले ग्रसित छन् । उनको उपचारमा सहयोग गर्न यतिबेला देशबिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी सक्रिय भएर जुट्नु भएको छ।
यहि सक्रियतामा जोडिदै चौनपा–७ का हाल अमेरिका उज्वल खड्काको पहलमा ‘समिर उदास बचाउ अभियान’ लाई ठूलो धनराशी सहयोग गरिएको छ ।
आफ्नो गाउँको अवस्था र त्यहाँका मानिसहरुको समस्यामा बढी चिन्तित देखिने खड्काको २ लाख ३३ हजार ६ सय १५ रुपैयाँ संकलन गरी सहयोग गरेका हुन् । आज बेल्टारस्थित उद्योग बाणिज्य संघको सभाहलमा एक अनौपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गराएको हो । समाजसेवी तथा अमेरिकामा आफ्नै व्यावसाय गरेर बस्नु भएका खड्काले आफ्नी ममतामयी आमा कौशिलादेवि खड्काको हातबाट उक्त रकम हस्तान्तरण गराएका हुन् ।
समिर उदास बिगत लामो समयदेखि बोनम्यारो क्यान्सर रोगले ग्रसित भई काठमान्डौंको सिभिल सर्भिस हस्पिटलमा उपचाररत छ । अबको केही हप्तामै उनको बोनम्यारो ट्रान्सप्लान्ट हुने कुरा उनका दाजु संजिव उदासले जानकारी दिए ।
रोग लागेपछि परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै स्थानीय रूपमा संचालित ‘बेल्टार, उदयपुर’ फेसबुकपेज मार्फत सहयोगको लागि आव्हान भएको थियो । ‘समिर बचाउ अभियान’ शुरु गरेर स्थानीय रमेश प्रधानको संयोजकत्वमा एक समिति निर्माण गरेर आर्थिक संकलन गर्ने कार्य भैरहेको छ।
ट्रान्सप्लान्टको लागि १८ देखि २० लाख लाग्ने अस्पतालले जनाएको छ । हालसम्म उनको उपचारको लागि लगभग १३ लाख खर्च भैसकेको परिवारले जनाएको छ ।
समिर उदासको उपचारमा सहयोग गर्न भन्दै विभिन्न क्षेत्रका ब्याक्तिले आद्दआफ्नो क्षेत्र बाट सकेको सहयोग गर्ने कार्य भैरहेको छ । हालसम्म २० लाख रुपैया संकलन भैसकेको छ । उक्त रकम संकलन गर्न ठुलो सहयोग गरेको ‘बेल्टार, फेसबुक’ पेजले हालसम्म ८ लाख ११ हजार २ सय बाउन्न रुपैया संकलन जुटाई हस्तान्तरण गरिसकेको पेजका एड्मिनमध्ये एक अन्जन किराँतीले जानकारी दिए ।