आदरणीय मेयर साब ज्यू
चौदण्डीगढी नगरपालिका
उदयपुर
नमस्कार,
आज म यो दोश्रो खुल्ला पत्र तपाईलाई स-सम्मान लेख्दैछु,गल्ती भए माफ।
मेयर साब ज्यू, कोरोनाको कहरबाट हाम्रो उदयपुर जिल्ला पनि अछुत नरहेको कुरा त सारा राष्ट्रलाई थाह छ। छिमेकी त्रियुगा नगरपालिकामा संक्रमितको त्यत्रो संख्या भेटिरहँदा हाम्रो चौदण्डीगढी नगरपालिकामा आज सम्म संक्रमित नभेटिनु यो तपाईहरुकै सुकर्मको कारण हो। सुरक्षाकर्मीहरुको सकृयता र तपाईहरुको प्रभावकारी निर्देशनको उपज हो भन्न पनि म कन्जुस्याई गर्दिन। तर के हाम्रो नगरमा साॅच्चै कोरोना जाॅच पर्याप्त मात्रामा भएको छ त? एकपल्ट देब्रे छातीमा हात राखेर सोच्नुहोस् त?
लकडाउन र आइसोलेसन मात्रै कोरोनाको उपचार हैन,यो त केवल एकबाट अर्कोमा संक्रमण नफैलियोस्,सामाजिक दुरी कायम रहोस् भन्ने हो। यो विचमा कृपया परिक्षणको दायरा बढाउनु प-यो। अहिले उदयपुर जिल्लामै टेस्ट किट पर्याप्त छैन भन्ने जानकारी आएको छ तर जसरी भए पनि तपाईले टेस्ट किट झिकाउनु प-यो,जसरी हुन्छ कोरोना परिक्षणको दायरा बढाउनु प-यो मेयर साब।यो अवस्थामा एकपल्ट फेरि हामीलाई तपाईको अभिभावकत्वको जरुरी छ।म तपाईलाई अनुरोध गर्न चाहन्छु,जसलाई शंका लागेको छ सबै व्यक्तिहरुको नाम लिस्ट टिपेर सम्भव भए PCR नभए RDT नै भए पनि परिक्षण गरियोस्। हाम्रो स्वास्थ्य चौकीमा PCR विधिबाट जाॅच गर्न नसकिए पनि RDT विधिबाट अवश्य जाॅच गर्न सकिन्छ। मेयर साब ज्यू कम्तिमा RDT विधिबाटै भएपनी हाम्रो स्वास्थ्य चौकीमा जाॅच गर्ने वातावरण बनाइदिनुहोस्। RDT विधिबाट जाॅच गर्दा नेगेटिभ आउॅदा पनि हाम्रो नगरपालिका सुरक्षित छ भन्ने आधार बन्दछ। हैन भने हामी सुरक्षित छौं भनेर कसरी भन्ने जबकी पर्याप्त मात्रामा कोरोना परिक्षण नै नगरिए पछि? कोरोना एउटा महामारी हो र जब जब देशमा यस्तो महामारी फैलिन्छ,सरकारले जनताको सुरक्षाको निमित्त ढाल बनेर उभिनुपर्दछ। अन्त्यमा फेरि पनि विनम्र आग्रह हाम्रो स्थानिय सरकारसंग,जति सक्दो छिटो परिक्षणको दायरा बढाइयोस्।
स्मरण रहोस्,कोरोना संक्रमित हुनु कुनै अपराध होईन न त यो एड्स जस्तो गलत सम्पर्कको कारण सर्ने नै हो। आशा छ तपाई समक्ष यो खुल्ला पत्र पुग्नेछ र प्रभावकारी ठोस कदम चाल्नुहुनेछ।
जय चौदण्डीगढी
अन्जन किराँती
चौदण्डीगढी नगरपालिका वडा नं ६
उदयपुर